घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।

स्रोतका अनुसार अब एकदमै थोरै मतमात्रै गन्न बाँकी छ। औपचारिक परिणाम केहीबेरमा सार्वजनिक हुनेछ।

अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।