महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ? बाँझोपन किन हुन्छ ?

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ । यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ।

बाँझोपन महिलाका कारण मात्र नभएर पुरुषका कारण पनि हुन्छ । यसबारे परिवार–समाजमा कमै छलफल हुन्छ । नियमित असुरक्षित यौनसम्पर्कको १२ महिनापछि पनि गर्भधारण हुन नसक्नु बाँझोपन हो भन्ने बुझिन्छ । विश्वव्यापी बाँझोपन दर निरन्तर वृद्धि भइरहेको छ । संसारमा प्रजनन उमेरका लगभग १८ करोडभन्दा धेरै व्यक्ति बाँझोपनका साथ बाँचिरहेका छन् । विकासशील देशहरूमा औसत ६.९ देखि ९.३ प्रतिशत व्यक्तिहरूमा बाँझोपन हुने देखिएको छ । एक अनुसन्धानअनुसार नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको छ । ८५ प्रतिशत जोडीमा बाँझोपनका कारण थाहा पाउन सकिन्छ भने १५ प्रतिशत जोडीमा कारण बिनै बाँझोपन हुने गर्छ ।

बाँझोपन हुने कारण के-के हुन् ?

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको विविध केमिकल युक्त खाने कुरा प्रदुषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ ।

विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ

ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना बढी हुन्छ । चिकित्सकको भनाई अनुसार २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।

बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?

विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रमा ध्यान दिने।

के कारणले हुन्छ बाँझोपन ?

खासमा बाँझोपन तीन कारणले हुन्छ । पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने बाँझोपन । यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ । दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ । तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ

महिलामा के कारणले हुन्छ बाँझोपनको समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
पुरुषकारक बाँझोपन

३०–४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।

प्रजनन दर बढाउन जोडीहरूले जीवनशैली केही परिवर्तन गर्नुपर्छ, जस्तो कम कीटनाशक भएका फलफूल र तरकारीहरूको सेवन बढाउने, तौल बढी भए घटाउने, नियमित व्यायाम गर्ने, चुरोट र रक्सी नखाने आदि । यसले प्रजनन क्षमता बढाउन धेरै फाइदा गर्छ । बच्चा जन्माउने निर्णय गरेपछि फोलिक एसिड सेवन सुरु गर्ने र नियमित आहारमा अत्यधिक पौष्टिक खानेकुराहरू खानुपर्छ । गर्भाशयबाट निस्कने चिप्लो पदार्थको निगरानी गरेमा आफ्नो अण्डा निस्कने समयको जानकारी महिलाले लिन सक्छन् र त्यस समयतिर यौन सम्बन्ध राख्नाले गर्भ बस्ने सम्भावना बढाउन सकिन्छ ।

बाँझोपन भयो भनेर कसरी थाहा पाउने र डाक्टरकोमा कहिले जाने जिज्ञासा धेरैको हुन्छ । सामान्यतया ३५ वर्षभन्दा कम उमेरका महिलामा गर्भवती हुन कोसिस गरेको एक वर्षसम्म पनि गर्भ नबसेमा डाक्टरको परामर्श लिँदा उचित हुन्छ । त्यस्तै ३५ देखि ४० वर्षका महिलाले भने कोसिस गरेको ६ महिनामा पनि गर्भ नबसे र ४० वर्ष कटेकाले भने तुरुन्त परामर्श लिँदा राम्रो हुन्छ । महिनावारी हुँदा धेरै पेट दुख्ने; महिनावारी अनियमित हुने; विगतमा प्रजनन अंग (गर्भाशय, ट्युब, अण्डाशय) को संक्रमण भएका, एन्डोमेट्रिओसिस भएका, श्रीमान्को शुक्राणु गणना कम भएका र पटक–पटक गर्भपतन भएका महिलाले भने जतिसक्दो छिटो उपचारका लागि डाक्टरसँग सल्लाह लिनुपर्छ ।

डाक्टरहरुको अन्तर्वार्ता र एजेन्सीको सहयोगमा