अस्पतालबाटै राजीनामा गरी आराम गर्न प्रधानन्यायाधीलाई बाराको आग्रह

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेपाल बार एसोसिएसनले अस्पतालबाटै राजीनामा दिएर आराम गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आग्रह गरेको छ । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर एपीएफ अस्पतालमा उपचाररत रहेको सन्दर्भ उल्लेख गर्दै बार महासचिव लीलामणि पौडेलले त्यहीँबाट राजीनामा गर्न सुझाएका हुन् ।

‘अहिले उहाँको नैतिक स्वास्थ्य पनि खराब छ । अस्पताल परिसरबाटै राजीनामा दिएर आराम गर्न आग्रह गर्छु,’ पौडेलले भने । प्रधानन्यायाधीश अस्वस्थ रहेकाले आज उनीविरुद्ध नाराबाजी भने नगरेको उनले उल्लेख गरे । सर्वोच्च अदालतमा भोलिदेखि गोलाप्रथाबाट पेशी तोक्ने परम्पराको शुरूआत हुन लागेकोमा बारले त्यसको स्वागत गरेको छ ।

गोलाप्रथामा प्रधानन्यायाधीशलाई सहभागी हुन नदिन उनले अपिल गरे । ‘बलमिच्याइँ गरेर गोला ताने पनि उहाँको इजलास बहिस्कार गर्छाैं,’ पौडेलले भने ।
साथै उच्च र जिल्ला अदालतमा पनि छिट्टै गोलाप्रथा लागू गर्न महासचिव पौडेलले आग्रह गरे ।

उच्च र जिल्ला अदालतमा मंसिर १ बाटै गोलाप्रथा लागू गर्ने भनिएकोमा आजसम्म लागू नभएको विरोधमा बारले अब ती अदालतमा पनि दैनिक एक घण्टा धर्ना दिएर मात्र काममा फर्किने निर्णय गरेको उनले बताए ।

बर्दिया कांग्रेस सभापतिमा अरुणसिंह राठौर निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बर्दियामा जिल्ला कार्यसमितिको सभापतिमा संस्थापनतर्फका ५८ वर्षीय अरुणसिंह राठौर निर्वाचित भएका छन् । उनले ८ सय ७० मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी पौडेल पक्षका भुवनेश्वर चौधरी ६ सय ६८ मत प्राप्त गरेका छन् । निर्वाचित राठौर कांग्रेसको १० र ११ औं महाधिवेशनमा बर्दियाका सभापति भइसकेका थिए । एक महिला सदस्यबाहेक सबै प्यानलमा संस्थापन पक्ष निर्वाचित भएका छन् । महासमिति सदस्य २४ जना संस्थापन पक्षका निर्विरोध निर्वाचित भएका छन् ।

२ जना जिल्ला कार्यसमितिमा निर्वाचित भएको सहायक मतदान अधिकृत वीरबहादुर रोकायले बताए । उपसभापतिमा गोविन्दप्रसाद थारु ८ सय ६० र सोधे विष्ट ८ सय ५९मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जग्गाप्रसाद पाण्डे ८ सय २९ र मीनराज चौधरीले ८ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उपसचिवमा तिलक लम्साल ९ सय ५३ र मेघबहादुर गुरुङ ८ सय ९२ मत प्राप्त गरी विजयी भएको सहायक मतदान अधिकृत रोकायले जनाए ।