अष्ट्रेलियाले फेरि बन्द गर्‍यो सीमानाका, समस्यामा नेपाली विद्यार्थी

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अष्ट्रेलियामा भेटिएपछि सावधानी अपनाउन भन्दै सीमानाका बन्द गरिएको छ। सोमबार अबेर आपतकालिन रुपमा बसेको राष्ट्रिय मन्त्रिपरिषद् र राष्ट्रिय सुरक्षा समितिको बैठकले आगामी १५ डिसेम्बरसम्म सिमाना नखोल्ने निर्णय गरेको हो ।

कोरोनाको नयाँ भेरियन्टबारे यथेष्ट जानकारीहरू उपलब्ध भइनसकेकाले तत्कालै जोखिम लिन नसकिने आंकलन गरेर सीमा नखोल्ने निर्णय गरिएको हो। अष्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारी पल केलीको सुझाव अनुसार सरकारले यस्तो निर्णय गरेको हो। दुई हप्ताको समयमा यस भाइरसको प्रभाव, खोपको असर मूल्यांकन गरेर नयाँ निर्णय लिने बताइएको छ।

यसबीचमा पनि पूर्ण मात्रा खोप लगाएका नागरिक, पिआरधारी तथा उनीहरूको नजिकको परिवारका सदस्यहरू अष्ट्रेलिया जान पाउँछन्।

यसअघि डिसेम्बर १ बाट अष्ट्रेलियाले विद्यार्थी लगायत २८ वटा भिषाधारीका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको थियो। तर, आजको निर्णयले फेरि यसलाई उल्ट्याए पछि अष्ट्रेलिया जाने टिकट लिएर बसेका नेपाली विद्यार्थीहरू पनि समस्यामा पर्ने भएका छन् ।