अस्ट्रेलियाले डिसेम्बर १ देखि खोल्ने भनेको अन्तर्राष्ट्रिय सीमा बन्द गर्‍यो !

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

झण्डै २ वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले पर्सी डिसेम्बर १ देखि खुला गर्ने घोषणा गरेकोमा अन्तिम समयमा फेरि सीमा बन्द गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बरमा अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णयलाई डिसेम्बर १५ सम्मको लागि स्थगित गरेको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

अस्ट्रेलियाले पर्सीदेखि सीमा खुला गरेपछि करिब २ लाख कामदार र विद्यार्थीहरु अस्ट्रेलिया जाने अपेक्षा गरिएको थियो । तर, अन्तिम समयमा शीर्ष संघीय मन्त्रीहरुले योजनाको पुनरावलोकन गर्दै सीमा खुला गर्ने अहिलेको कार्यक्रम केही पर सार्ने निर्णय गरेका छन् । मंगलबार अस्ट्रेलियाको राष्ट्रिय क्याबिनेटको बैठकले यस विषयमा थप निर्णय गर्नेछ ।

संघीय सरकारले सोमबार राती एउटा वक्तव्य जारी गर्दै निर्णयको पुष्टि गरेको छ । वक्तव्यमा जापान र दक्षिण कोरियाबाट आउने यात्रुलाई समेत डिसेम्बर १५ सम्म प्रवेश नदिइने बताइएको छ । सोमबार राती प्रधानमन्त्री स्कट मोरिसनले संघीय मन्त्रिपरिषदको राष्ट्रिय सुरक्षा समितिसँग छलफल गरेका थिए जसमा स्वास्थ्य विशेषज्ञहरुले ओमिक्रेन डेल्टा भेरिएन्टभन्दा घातक छ कि छैन भन्ने थाहा पाउन समय लाग्ने बताएका थिए ।