एमाले महाधिवेशन: अध्यक्ष पदमा ओली भर्सेस रावल

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया सुरु भएलगत्तै सोमबार बिहान ओली र रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णूप्रासदा पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसैगरी, रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्वाचित

नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उहाँहरु निर्विरोध हुनुभएको हो । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ । अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ । बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिनुभएको हो ।

केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावालीको छानविन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि आन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाँले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान आज रातिसम्ममा सुरु हुनसक्ने बताउनुभयो । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नैपर्ने उहाँले जनाउनुभयो ।