अब इतिहासमा कुनै अध्यक्षले ‘लिस्ट’ पढ्नेछैन, ओली नै अन्तिम हो : घनश्याम भुसाल

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको जस्तो सूची अब कुनै कम्युनिस्ट पार्टीका अध्यक्षले नपढ्ने टिप्पणी गरेका छन्।

सोमबार महाधिवेशनस्थल चितवनको सौराहामा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले केपी ओलीले पढेको नै अन्तिम सूची हुने दाबी गरे। ‘अध्यक्षले प्रस्ताव ल्याएपनि त्यसमा असहमतहरुले लड्ने छन् भनेर करेक्सन गरेका थियौं। यद्यपि त्यो बाटो नै गलत थियो। थोरै भएपनि करेक्सन गरेका थियौं’ भुसालले भने, ‘यस्तो गल्ती अब इतिहासमा कुनै अध्यक्षले कुनै लिष्ट पढ्ने छैन्। यो अन्तिम हो। ओली कमरेडले जुन पढ्नुभयो। त्यो अन्तिम हो।’

एमालेलाई वैचारिक रुपमा आजपनि ठिक ठाउँमा ल्याउन जरुरी भएको बताउँदै भुसालले त्यसो नभए दुर्भाग्य हुने भन्दै आगामी दिनमा धेरै ठूला ठक्कर खाने बताए।

‘वैचारिक रुपमा ठिक ठाउँमा ल्याउन एक्लो प्रयासले सम्भव हुन्छ। मैले सुस्ष्पट कार्यदिशा बनाएर ल्याएको हो। त्यसलाई नवौं महाधिवेशनमा पार्टीले पारित गरेको थियो। अनि हामीले गरे हुँदैन? एक्लै गरेर हुँदैन?’ भुसालले भने,‘ यि धेरै कमरेडहरु छन् यिनले सबै बुझे भने हुँदैन?’ आफ्ना कुरा केन्द्रीय कमिटी, स्थायी कमिटी हुँदै महाधिवेशनसम्म आइपुगेको भुसालले बताए।

‘यो कुरा पार्टी अध्यक्षलाई भनेको छु। यो पार्टीको सिद्धान्तको मैले लिड गरेको हो कि हाइन भनेर बैठकमा राखेको छु’ भुसालले भने।