ओलीको केन्द्रीय कमिटीमा नपरेपछि फन्किएर बन्दसत्रबाट बाहिरिए दुर्गा प्रसाईं

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाउने चर्चा थियो ।केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै नेकपा (माओवादी केन्द्र) निकट रहेका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका थिए ।

एमालेले प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गर्यो । प्रसाईं केन्द्रीय सदस्य बन्ने सपना बाेकेर नारायणीकाे तीरमा पुगे । चिनवनमा जारी १०औं महाधिवेशनमा सर्वसम्मत हुने नदेखिएपछि प्रसाईंले केन्द्रीय सदस्यमा उम्मेदावरी पनि घोषणा गरे । उनले ‘ओलीकै आर्शिवाद’का कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताका थिए ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्य कमिटीको सूची पेस गरे । ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाए । ओलीले ३०१ जनाको नाम पढिसके, तर, प्रसाईंको नाम आएन ।

आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट फन्किएर बाहिरिए । बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ । त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको ।’

अध्यक्षमा ओलीले पनि दर्ता गरे उम्मेद्वारी, प्रस्तावित सबै पदाधिकारीले मनोनयन दर्ता गर्नुपर्ने

नेकपा (एमाले) को भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन्। सर्वसम्मत प्रस्ताव पारित हुन नसकेपछि निर्वाचन प्रक्रियामा ओली सामेल भएका हुन्। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन्। ओलीले आइतबार राति आफूहित १९ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। उक्त सूचीमा नअटाएका रावल, वर्तमान उपमहासचिव घनश्याम भुसाल र सचिव भीम आचार्यले पनि उम्मेद्वारी दिएका छन्। भुसालले उपाध्यक्षमा र आचार्यले सचिवमा उम्मेद्वारी दिएका हुन्।

आइतबार राति प्रस्ताव गरिएका १९ जना पदाधिकारीले निर्वाचन प्रक्रियामा सोमल हुनु पर्नेछ। कुनै पदमा आवश्यकताभन्दा बढी उम्मेद्वारी नपरे सर्वसम्मत हुनेछ। उम्मेद्वारी परेमा निर्वाचन हुनेछ।