आमाले कुटपिट गर्दा ३५ वर्षीय छोराको मृत्यु

रामेछाप खबर संवाददाता

१३ मंसिर विराटनगर ।

सांकेतिक तस्विर /
मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पुगेका राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए ।

झगडा गर्न थालेपछि आमा बातियोले लट्ठीले कुटपिट गर्दा राजेन्द्र घाइते भएको उनको भनाइ छ । घटनालगत्तै राजेन्द्रलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि घर फर्काइएका उनको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार राति नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

घटनाका बारेमा ढिलो गरी जानकारी पाएको प्रहरीले घटनास्थलमा पुगेर राजेन्द्रलाई थप उपचारका लागि नोबेल लगेको हो । उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

कैलालीमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ स्याउले चोकमा अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले साेमबार बिहान साढे ३ बजे ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको हाे।

ट्रककाे ठक्करबाट घाइते उनकाे उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हाे। उनकाे पहिचान खुलेकाे छैन। मृतकको पहिचान खुलाउन प्रहरीले आफन्तकाे खाेजी कार्य गरिरहेकाे छ।

घटनापछि ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहले नियन्त्रणमा लिएको छ।