ओलीको टिममा किन परेनन् रावल, भुसाल र आचार्य ?

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

चितवनमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीकाे सूचीमा नेताहरू भीम रावल, घानश्याम भुसाल र भीम आचार्यको नाम समावेश गरेका छैनन् । दस बुँदे सम्झौता गरेर एमालेमै रहेका दश भाई मध्ये अन्यलाई पदाधिकारीको जिम्मा दिए पनि उनीहरू तीनै जनालाई ओली बाइपास गरेका हुन् ।

भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिन उम्मेदवार दर्ता गर्ने बताउँदै आएका छन् । भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए । रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने देखिएको छ ।

अहिले ८ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । बन्द सत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैँ, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् ।

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।
रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

यस्तै नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।