आईसीसी विश्वकप २०२३ को एसिया छनोटबाटै बाहिरियो नेपाल

रामेछाप खबर संवाददाता

१२ मंसिर, काठमाडौं ।

अन्तिम खेलमा यूएईसँग हार बेहोर्दै नेपाल आईसीसी विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ। छ टिम सम्मिलित छनोट प्रतियोगितामा दोस्रो स्थानमा समेटिएपछि नेपाल ग्लोबल छनोटमा पुग्नबाट पनि बञ्चित भएको हो।

आइतबार दिउँसो यूएईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस जितेर फिल्डिङ राजेको नेपालले आयोजक टिमसँग ४८ रनको हार बेहोरेको हो।

टस हारेर ब्याटिङको अवसर पाएको यूएईले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२७ रन बनाएको थियो। जवाफमा १९ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर नेपाल ७९ रनमा समेटियो। नेपाललाई ४८ रनले हराएको यूएई एसियाली छनोटमा अपराजित रहँदै विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। यूएईले पाँच खेलमा शतप्रतिशत जित निकाल्दै १० अंक बनायो।

यूएईले जित निकालेपछि छनोटको बाटोमा रहेको हङकङ पनि बाहिरिएको छ। आज भएको खेलमा उसले सबैभन्दा कमजोर टिम कुवेतसँग खेल्दैछ। त्यो खेलमा जित निकाले पनि हङकङ ग्लोबल छनोटमा पुग्नेछैन।

खेलमा यूएईका तीर्था सतिसले ४७ रन बनाइन् भने कविशा इगोडाजीले २२ रन जोडिन्। त्यस्तै, चम्मानी सेनेवितात्नाले ५२ रन जोडिन्। त्यसक्रममा नेपाली बलर कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई, सिता राना मगर र संगीता राईले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालका कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। कप्तान क्षेत्री दुई रनमै आउट हुँदा सिता राना १३ र कविता कुँवर चार रनमै आउट भए। इन्दु वर्माले १५ रन बनाउँदा सरिता मगर र काजल श्रेष्ठले समान ८–८ रन जोडे। बलिङतर्फ समाइरा धनिधर्काले चार विकेट लिइन भने छाया मुग्हले एक विकेट गिराइन्। खुसी शर्मा र चमनी सेनेविरत्नाले समान दुईदुई विकेट लिइन्।