भीम रावललाई ओलीको जवाफ- लड्ने भए लड्नुस्, तर केका लागि विचार गर्नुस्

रामेछाप खबर संवाददाता

११ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव स्वीकार्य नभए मनोनयन दर्ता गर्न उपाध्यक्ष भीम रावललाई आग्रह गरेका छन्। चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा समय लिएर बोल्दै रावलले सहमति राम्रो कुरा भएको तर जबज अनुशरण गरेर अघि बढ्नुपर्ने बताएका थिए। रावलले आफू अध्यक्ष पदको उम्मेदवार भएकाले त्यसबाट पछि नहट्ने दोहोर्‍याएका थिए।

त्यसको जवाफमा ओलीले मनोनयन दर्ता गर्न सुझाव दिएका हुन्। ओलीले उम्मेदवारी दर्ता गरे पनि फिर्ता हुने बताएका छन्। ‘उहाँका विरुद्ध कसैले मनोनयन नै गरेन भने कोसँग लड्ने होला?,’ ओलीले हाँस्दै भने।

‘केका लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्ला,’ ओलीले थप भने, ‘सबैले त जित्दैन होला। केन्द्रित सदस्य पनि ३०१ हुने भएकाले यसमै निर्वाचित भएकोमा गर्व गर्नुपर्छ।’

जबजको प्रसङ्‍ग पनि आएको भन्दै उनले यसमा सहमति हैन भन्ने नभएको दाबी गरे।विगतमा जबरजस्ती सहमति गरिएको तर अहिले सहमति अधिकार र विधानभित्रबाटै हुने ओलीले बताए।

एमाले महाधिवेशनः बन्दसत्रमा ओली र रावलबीच भनाभन

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत शनिबार दिउँसोबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ।बन्दसत्रले पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयप्रति उपाध्यक्ष रावलले आपत्ति जनाएपछि ओली र रावलबीच भनाभन भएको हो।

पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरिएपछि रावलले भनेका थिए, ‘अध्यक्षमा मेरो दाबेदारी कायमै छ। मेरो उम्मेदवारी फिर्ता हुन्न।’ त्यसपछि ओलीले ‘तपाईंले उम्मेदवारी फिर्ता लिनै पर्दैन। उम्मेदवारी दर्ता नै गर्नुभएको छैन, के फिर्ता लिनुहुन्छ?’ भनेका थिए।

आगामी पाँच वर्षका लागि चयन हुने १९ जना पदाधिकारी, पोलिटब्यूरो सदस्य र केन्द्रिय कमिटीका लागि नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिइएको हो। आइतबार बिहान १०ः०० बजे पुनः सुरु हुने बन्दसत्रमा नाम पेश गर्न समय तोकिएको छ।