नुवाकोटमा महत दाजुभाइ मिल्दा हारे केसी दाजुभाइ

रामेछाप खबर संवाददाता

११ मंसिर, काठमाडौं ।

नुवाकोट कांग्रेसको सभापति रमेश महत विजयी भएका छन्। शनिबार सार्वजनिक भएको मत परिणामअनुसार महतले अर्का उम्मेदवार केदारनरसिंह केसीलाई १० मतले हराएका हुन्। महतले ८३३ मत पाए भने केसीले ८२३ मत ल्याए।

महत नुवाकोटका कांग्रेस नेताहरू रामशरण महत र प्रकाशशरण महतका भतिजा हुन्। केन्द्रीय राजनीतिमा रामशरण र प्रकाशशरण फरक-फरक गुटमा छन्। प्रकाशशरण सभापति शेरबहादुर देउवातिर छन् भने रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेलतिर छन्।

केन्द्रमा फरक-फरक भए पनि जिल्लामा महत दाजुभाइ मिल्दा २१ वर्ष नुवाकोट कांग्रेसको नेतृत्व केसी परिवारबाट महत परिवारमा सरेको हो। रामचन्द्र पौडेल समूहमा रहेका नेता अर्जुननरसिंह केसीका भाइ जगदीश्वरनरसिंह केसी २१ वर्षदेखि नुवाकोट कांग्रेसका सभापति थिए। यसपालि उनीहरूले आफ्नै अर्का भाइ केदारनरसिंह सभापतिमा उम्मेदवार बनाएका थिए। सेतोपाटी संवाददाता

हतारो नगरौं, फेरि पनि पालो आउँछ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैको पालो आउँछ भन्दै अहिले एकतामा प्रतिकूल असर नपार्न आग्रह गरेका छन्। चितवनमा जारी दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले भने, ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु। कसै न कसैले कुनै न कुनै ठाउँमा जिम्मेवारीहरु सम्हाल्नुपर्छ। तर आफ्नो महत्त्वाकांक्षाको कारणले अस्वस्थ होडबाजी, अस्वस्थ प्रतिस्पर्धा र प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने खालका गतिविधिहरु नगरौं।’

उनले कुनै न कुनै जिम्मेवारी सबैले सम्हाल्नुपर्ने बताए। उनले सानो भए पनि यस देशमा पालिकाहरु, प्रदेशहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभालगायत निकायहरुमा अवसर पाउने आश्वासन दिए।

‘हामीसँग सानो भए पनि देश छ। यत्रा पालिकाहरु छन्। प्रदेशसभा छन्। प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ। अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन्। अहिले नभए अर्को समय आउँछ। हतारोका साथ प्रतिस्पर्था नगरौं। लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन। यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ,’ उनले भने।