भक्तपुरको बस स्टपमा टिपरले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय लिम्बुको मृत्यु

रामेछाप खबर संवाददाता

११ मंसिर, काठमाडौं ।

सांकेतिक तस्विर /
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा. ३ ख. ५४२३ नं को टिपरले विपरीत दिशातर्फबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा ललिलतपुरका २४ वर्षीय स्कुटर चालक अशिम लिम्बुको मृत्यु भएको हो ।

स्कुटरमै सवार २६ को सन्दिप महर्जन गम्भीर घाइते भएका छन् । उनको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दाङ जिल्लाका टिपर चालक ३१ को किरण योगीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोसी ब्यारेजमा हाम फाल्दा एकजनाको मृत्यु

सप्तरीको पूर्वी सीमाको रूपमा रहेको हनुमान नगर कंकालिनी नगरपालिका– १ कोसी नदीमा हाम फाल्दा शनिबार दिउँसो झापा दमक घर भएका एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसी ब्यारेजको पश्चिमतर्फ पर्ने ५२ नम्बरको ढोकाबाट नदीमा हाम फालेका झापाको दमक नगरपालिका– ६ घर भएका ४५ वर्षीय सुवास नेपालको मृत्यु भएको हो।

सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार बिहान करिब पौने १२ बजे नदीमा हाम फालेका नेपालको शव खोजतलासको क्रममा दिउँसो करिब साढे २ बजे भेटिएको हो। मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको डिएसपी काफ्लेले बताए।