रामेछापमा हत्या गरेर फरार भएका आरोपी बाबुछोरा १२ बर्ष पछि पक्राउ

रामेछाप खबर संवाददाता

११ मंसिर, रामेछाप ।

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा १२ बर्ष अघि निखिल भन्ने तिर्थमान दोङ (तामाङ)को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रे तेमाल गाउँपालिका–९ मेच्छेपौवाका २९ बर्षिय दोङको राकाथुममा २०६६ साल कात्तिक ९ गते हत्या भएको थियो । तामाङको मृत्यु भएपछि काभ्रे मेच्छेपौवका पृथीमान दोङले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । लामो समयसम्म घटनाको दोषी पत्ता लाग्न नसकेको भन्दै पीडित परिवारले प्रहरी समक्ष गुनासो गर्दै आएको थियो ।

पीडित परिवारले बारम्बार गुनासो गर्दै आएपछि जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिए । तामाङको हत्यामा संलग्न भएको आरोपमा खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई आज प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ परेका बाबु छोरासहितको समुहले निखिललाई व्यक्तिगत रिसिइबी भएकाले खुकुरी र तरबार प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष पीडित परिवारले किटानी जाहेरी दिएको थियो । निर्मम तरिकाले हत्या गरेको कर्तब्य ज्यान मुद्दाका फरार रहेका दुवै जनालाई आज जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ज्ञान बहादुर तामाङलाई राकाथुमबाट र उनका छोरालाई काभ्रेको धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई बताए । उनका अनुसार १२ बर्षपछि फरार रहेका दुई जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लामो समयको अनुसन्धानपछि फरार आरोपीलाई पक्राउ गर्न सफल भएको ढुंगानाले बताए ।