श्रममन्त्री श्रेष्ठले भने– कतार प्रहरीको अवसर गुम्न दिन्नँ

रामेछाप खबर संवाददाता

१० मंसिर, काठमाडौं ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल(कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरुसँग छलफल गरेका छन्।
शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो।

कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो। मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए।

वैदेशिक रोजगार व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने बताए।
उनले भिजिट भिषामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिए।

कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसर गुम्न नदिने उनले बताए। वैदेशिक रोजगारका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रिकरण, कतार भिसा सेन्टर सम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडित हुनेहरुलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने आबश्यकता औँल्याए।

साथै उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरुले ध्यानाकर्षण गराए। हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कामदार रहेका छन् ।
सेतोपाटी संवाददाता