नारायणी नदी किनारमा ओलीको गर्जन : देश बनाउन बहुमत दिनुस्, एमालेका लागि होइन

रामेछाप खबर संवाददाता

१० मंसिर चितवन ।

एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’
ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

जनताको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने संकेत दिएका छन्। चितवनमा आयोजित दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले नेपाली जनताले बनाएको संविधान आवश्यकताअनुसार संशोधन हुने बताए।

उनले आफ्नो पार्टी अब चुनावमा केन्द्रीत हुने बताए। त्यसका लागि अन्य पार्टीलाई जनतामा जान आह्वान गरेको तर उनीहरु त्रसित भएको उनले बताए।

उनले छोटो समयमा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभिभारा रहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि, संविधानको गलत व्याख्या सच्चाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे।

उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताए। ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो,’ उनले भने।

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।’

उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- ‘तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।’