‘केपी ‌ओली मेरा जेलका साथी हुन्’ : प्रधानमन्त्री देउवा

रामेछाप खबर संवाददाता

१० मंसिर चितवन।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको दसौँ महाधिवेशनका लागि बधाई तथा शुभकामना दिएका छन्। उनले यसका लागि एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन्। उनले नारायणी नदी किनारमा शुक्रबार शुभकामना दिँदै भने- ‘लोकतन्त्रलाई संस्थागत गर्ने यस अभियानमा सबैलाई सहभागी हुन म आग्रह गर्दछु।’

उनले सबै दलहरुले मुलुकलाई समुन्नति गर्न एउटै लक्ष्य हुनुपर्ने बताए। ‘हामीबीच विमतिहरुलाई संविधानमार्फतका विधिबाट टुंगो लगाउने पद्धति बसाउनुपर्छ,’ उनले भने। उनले अध्यक्ष ओलीलगायत बामपन्थी साथीहरु जेलमेट भएको उल्लेख गर्दै भने- ‘भोलिका दिनका कोही नेपालीलाई दुख नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ।’

चित्रबहादुर केसी भन्छन्– राजनीतिलाई पेसा बनाएसम्म यस्तै हुन्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई पेसा बनाएसम्म अहिलेको अवस्था कायम रहने बताएका छन्। चितवनमा आयोजित नेकपा एमालेको १०औं महाधिवेशनको उद्द्धाटन सभालाई सम्बोधन गर्दै केसीले विश्वमा वाम आन्दोलन सकिँदै गएको बताए।

विश्वमा वाम आन्दोलन सकिँदै गइरहँदा नेपालमा रहे पनि यहाँ एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको केसीले टिप्पणी गरे। उनले देशभित्रको समस्यामा वाह्य शक्तिलाई सबै कुरा भनेका कारण उनीहरुले हेपेको टिप्पणी गरे। ‘अहिले देखिएको अराजकता हामी नेताका कारण भएको हो भनेर स्वीकार गर्नु पर्‍यो,’ उनले भने, ‘हामी राजनीतिक दल नसुध्रिएसम्म हुँदैन। राजनीतिकलाई पेसा बनाएसम्म यस्तै हुन्छ।’