ओलीले चुच्चे नक्सा बनाएर नेपाललाई अविस्मरणीय गुन लगाए : थापा

रामेछाप खबर संवाददाता

१० मंसिर, काठमाडौं ।

file photo
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरासमेत समेटेर चुच्चे नक्सा बनाएर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाएको दाबी गरेका छन्। शुक्रबार चितवनमा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै थापाले देशले ओलीबाट साहसीक निर्णयको अपेक्षा गरेको बताएका हुन्।

उनले केपी ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेता रहेको बताएका छन्। उनले दुई वटा प्रमुख कामका निम्ति केपी ओली र देशलाई सम्झिने बताए। ‘तपाईंहरुको लोकप्रिय अध्यक्ष केपी ओलीसँग मैलेपनि केहि समय काम गर्ने अवसर पाएको थिए । त्यसबेला देशमा आन्दोलनमा थियो । भारतले नाकाबन्दी गरेको थियो ।’उनले भने, ‘केपी ओलीको मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभीमानमा एक इन्च पनि आँच आउन दिएनौं ।’

उनले एमाले देशको सबैभन्दा ठूलो राजनितिक दल भएको धारणा राखे। थापाले मधेशमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण राजनितिमा ल्याउन सफल भएको दाबी गरे। ‘अहिले देश संकटको भुमरिमा परेको छ । भ्रष्टाचार व्याप्त छ ।’उनले भने,‘सनातन सांस्कृतिक पहिचानलाई समाप्त पार्ने खेल भइरहेको छ ।’ उनले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद उन्मुख हुन लागिरहेको संकेत देखिएको बताए।