आजदेखि एमाले महाधिवेशन : ओलीले उद्घाटन गर्ने, देउवाले शुभकामना दिने,यस्तो छ तयारि

रामेछाप खबर संवाददाता

१० मंसिर, काठमाडौं ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज शुक्रवार मध्याह्न चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बंगलादेश, श्रीलंका, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भने भोलि

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कांग्रेसका निर्वाचन संयोजक लोक खड्काका अनुसार अधिवेशन जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको छ ।

आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुने उनले बताए । ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोलि हुनेछ,’ खड्काले भने ।

रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरू संयुक्त रूपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दाबी छ ।