चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

चितवनको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो गाडीले हिजो बेलुका करिब सवा ७ बजे उनलाई ठक्कर दिएको थियो । जिप चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भन्डाराले जनाएको छ ।

बस र माइक्रो ठक्कर खाँदा ८ यात्रु घाइते

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस आज बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।