एमालेको महाधिवेशन उद्घाटनमा राष्ट्रिय गान गाउन ७२ कलाकार छनोट, को-को हुन् ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा ७२ कलाकार सहभागी हुने भएका छन् । उनीहरुले महाधिवेशनको उद्घाटन कार्यक्रममा एक साथ राष्ट्रिय गान गाउने भएका नेकपा एमाले स्रोतले जनाएको छ ।

दसौँ महाधिवेशनको तयारीबारे जानकारी दिँदै नेकपा एमालेका सचिव योगेश भट्टराईले कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष भएकाले ७२ कलाकारको उपस्थितिमा सामूहिक रूपमा राष्ट्रिय गान गाउने कार्यक्रम राखिएको बताए ।

उनले महाधिवेशन स्थलमा सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको पनि जानकारी दिए । यसका लागि गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफलसमेत भइसकेको उनको भनाइ थियो ।

उनले ठुलो सङ्ख्यामा सहभागीहरू उपस्थित हुने भएकाले उद्घाटन सत्रमा नारायणी किनारमा प्रशस्त स्थान नपुग्ने महसुस गरी गैँडाकोटतर्फको किनारमा पनि ठुला स्क्रिनसहित उद्घाटन समारोहको दृश्य प्रसारणको व्यवस्था मिलाइएको जानकारी दिए ।

यसैबीच, महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।

महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी बर्दघाट–सुस्तापूर्व र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् ।

ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ । महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए ।

एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताए ।

जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको जनाउँदै प्रजिअतामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिए ।

जिल्लामा भएका भन्दा थप ६५० प्रहरी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको उनले बताए । त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।

१७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनीमार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने उनले बताए ।

त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जनशक्ति परिचालन गरेको विभागका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताए ।

आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।