खाडीमा घरेलु कामदार पठाउने वातावरण बनाउन संसदीय समितिलाई श्रममन्त्रीको आग्रह

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए ।

‘रोजगारिका लागि जान चाहाने नयाँ घरेलु कामदारको विषयमा छलफल गर्न सकिन्छ, तर, पुरानाको हकका भने समितिले तत्काल निर्देशन जारी गर्नुपर्छ, समितिले यस विषयमा निर्देशन जारी गरे मन्त्रालयले तत्काल निर्णय लिन्छ’ उनले भने ।

समितिको बैठकमा सांसदले भने विचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदार ठगिने गरेको भन्दै विचौलिया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् । यस्तै, वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन नै नभएको भन्दै गुनासोसमेत गरेका छन् । सांसदहरूले निर्णय भएको लामो समय बित्दा पनि कामदारले म्यानपावर व्यवसायीहरूलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको पनि बताएका छन् ।
फरकधार