श्रम स्वीकृतिको काम अब दुई सिफ्टमा सुरु हुने

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

वैदेशिक रोजगारीमा जाने कामदारको पुनः श्रम स्वीकृति व्यवस्थित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चारबुँदे निर्देशन दिएको छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहका लागि मन्त्रालयले निर्देशन गरेको हो ।

मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भिड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १ मंसिरमा वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी बनाउन निर्देशन दिएका थिए ।