७ मंसिर, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहाचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएपछि केही सुधार भएको छ ।
गत मंसिर १ गते बुधबार मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयमा अनुगमन गरेका थिए । साे क्रममा सेवाग्राहीको समस्या र गुनासाहरु सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
साे निर्देशनपछि विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ, जसबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । साथै सेवाग्राहीले अनलाइन फारम भरेर ई-टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको जनाइएकाे छ ।
यसैगरी, ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको छ । श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न समेत थालिएको बताइएकाे छ ।