७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा चितवनबाटै चुनाव लड्ने भएका छन् । साेमबार चितवनकाे भरतपुर महानगरपालिका-२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
भरतपुर महानगरकाे विकास भइरहेकाे र आगामी दिनमा अझ विकास गर्नका लागि चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने उनले स्पष्ट पारे । चितवनका रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई निर्वाचन अगाडि नै जग्गा वितरण पनि गरिने उनले दाबी गरेका छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थिति रहेकाे थियाे ।
भोजपुर कांग्रेसको सभापतिमा पौडेल पक्षका वान्तवा निर्वाचित
भोजपुर । नेपाली कांग्रेस भोजपुरको जिल्ला सभापतिमा विनोद वान्तवा निर्वाचित भएका छन् । जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका ३ जनामध्ये कसैले ५० प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको थियो ।
पहिलो चरणमा पहिलो बनेका वान्तवालाइ दोस्रो बनेका नन्दमणि राईले समर्थन दिएपछि दोस्रो चरणको निर्वाचन गर्नु परेन । वान्तवा केन्द्रीय राजनीतिमा संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
उनले पहिलो चरणमा ४ सय १५ मत ल्याउँदा राईले ३ सय ९४ मत ल्याएका थिए । तेस्रो भएका बालकृष्ण थापाले २ सय ६० मत ल्याएका थिए ।