६ मंसिर, काठमाडौं ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको निधन भएको छ। सोमवार दिउँसो आफ्नै घरको शौचालयमा जाने क्रममा लडेर ७३ वर्षीय बस्यालको मृत्यु भएको सोही वडाका वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।
शौचालय जाने क्रममा लडेर अचेत भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी क्यान्सर रोगबाट पनि पीडित भएको बताइएको छ। बस्याल स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
फेरि सत्तामा पुग्न एमालेलाई ओलीजस्तो सक्षम नेतृत्व आवश्यक : बादल
काठमाडौं । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले आफूहरूले पार्टीको १०औँ महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताएका छन् । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउनेगरी महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरेर अघि बढ्ने बताए ।
पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारूढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्तो सक्षम नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत बताए ।
“आगामी निर्वाचनबाट फेरि एमालेलाई राजकीय सत्तामा पुनर्स्थापित गर्ने र परमादेशबाट निर्माण भएको अहिलेको दक्षिणपन्थी जो सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ । हामीले मंसिर १० गते चितवनमा के सन्देश दिन चाहन्छौँ भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनस्थापित हुनेछ । र, नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । नेपाली जनताको सुःखचाहिँ सम्भव छ,” उनले भने ।
कार्यक्रममा बोल्दै एमालेका नेता शंकर पोखरेलले नेपालको समृद्धिको योजना बनाएर अघि बढने ओली मात्रै प्रधानमन्त्री भएको बताए ।