ग्यासको भाउ बढाएर सरकारले जनतामाथि अत्याचार गर्यो : अध्यक्ष नेपाल

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने आस्वासन पनि दिए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।“समस्याको कारण पनि खोज्नु प¥यो समाधान पनि निकाल्नु पर्यो ।

यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुप¥यो” उनले भने, “सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्यो । यो हाम्रो दायित्व भित्र पनि पर्दछ ।”

अध्यक्ष नेपालले खाना पकाउने ग्यासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । उनले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताए । उनले बाटोमा हुने चोरी र नोक्सानीको बारेमा हिसावकिताव हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए ।

“जनतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा मारमा पार्नुभएन” उनले भने, “ग्यासमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको छ । म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउँछु ।”

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पु¥याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैं जोडिरहनु पर्ने बताए ।