५ मंसिर, काठमाडौं ।
पछिल्लो समय युवा पुस्ता कि सामाजिक सञ्जालमा समय बिताउन ब्यस्त छन् भने कोही विदेशी भूमिमा पसिना बगाउँदै । युवा पुस्ता राजनीतिक देखि बेखबर छन् । तर बागलुङ, काठेखोला गाउँपालिका बिहुँकी उषा सापकोटालाई भने नेपालका ठूला राजनीतिक दलका नेताले बधाई दिइरहेका छन् ।
१८ वर्षकै उमेरमा उनले आफ्नो छुट्टै पहिचान बनाइन् । अन्य युवाले रोज्ने भन्दा फरक बाटो अपनाइन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखे, ‘१० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदा अनुहारको लागि। १८ वर्ष पुग्दा नै प्रदेश अधिवेशन प्रतिनिधि चुनिएकी उषालाई हार्दिक बधाई ’ उनले दिएको यो बधाईमा अन्य नेताहरु पनि थपिएका छन् ।
भर्खरै कानुनमा १२ कक्षा उत्तीर्ण गरेकी उषा शनिबार भएको कांग्रेस क्षेत्रीय अधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश प्रतिनिधि चुनिएकी छन्। प्रदेश प्रतिनिधिका लागि खसआर्य कोटामा प्रतिस्पर्धा गरेकी उषा २८६ मतसहित विजयी भएकी हुन्।
‘पहिले राजनीतिक परिवर्तन, अहिले राजनीतिमा परिवर्तन’ नारासहित उनी नाति पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएकी हुन्। उनी पढेर विदेशी भूमिमा जानुभन्दा आफ्नै भूमिलाई युवाहरुका लागि उर्वर बनाउन चाहन्छिन् ।
‘विदेश जाने सपना देख्नुभन्दा नेपाललाई नै स्वर्ग बनाउने अभियान थाल्न उनले आफु जस्ता युवालाई सुझाव दिएकी छन् । त्यसको नेतृत्वका लागि आफु राजनीतिमा आएको पनि उनले बताएकी छन् । एलएलबीको तयारी गर्दै गरेकी उषाले पढाइसंगै राजनीतिकलाई पनि संगसंगै लैजाने बताउँछिन् ।