गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो ।

बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्शमा पुग्ने तर अलपत्र हुन नदिने उहाँको भनाई छ । सरकारले स्वामित्व लिने नलिने भन्नेवारे आफू एक्लैले भन्न नसक्ने तर निर्माण हुँदा बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माको भनाई थियो ।

टेलिभिजन प्रसारण अनुमति नलिएको पतञ्जलीको स्वीकारोक्ति, भवनमात्र उद्घाटन गरिएको दाबी

काठमाडौं । रामदेवका टीभी च्यानल दर्ताबिना संचालन गरिएको बारे पतञ्जली योगपीठ नेपालले मुख खोलेको छ । योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर संचालक समितिको बैठकले टिभी संचालन सम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण लिइएको बताएका छन् ।

थप अनुमतिको लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाल टिभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको हो । सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात् योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणी आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाईतको लागि टिभी भवनको उद्घाटन गरिएको हो ।’

सरकारको नीति, नियम कानूनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी संचालन हुने योगपीठले जनाएको छ । आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले हतारमा केही मिडियाले स्ष्ट नबुझी भ्रामक सूचना प्रसार गरेको जिकिर गरेको छ ।

शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गरेका थिए । यसैबीच सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले जानकारी दिए ।