५ मंसिर, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले वैदेशिक रोजगारीका लागि मलेसियालगायत खाडी मुलुक पुगेका नेपाली युवाहरूको बढ्दो मृत्युदरप्रति चिन्ताव्यक्त गरेका छन्।
हाल संघको उपाध्यक्ष रहेका केसी वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक पनि हुन्। ‘सम्मानित र मर्यादित वैदेशिक रोजगार’ विषयमा शुक्रबार भएको एक वहस कार्यक्रममा उनले देशले अदक्ष कामदार वैदेशिक रोजगारीमा पढाउँदा यस्तो अवस्था भोग्नुपरेको इंकित गरे।
‘हाल दैनिक विदेशबाट ३/४ वटा शव फर्काउनु पर्ने अवस्था आएको छ। यो चिन्ताको विषय हो,’ उनले राज्यलाई यसप्रति सजग रहन आब्हान गर्दै भने, ‘स्वस्थ (निरोगी) युवा पठाएर हामी शव बुझिरहेका छौँ।’ उनले यो अवस्थालाई शून्यमा झार्न सबैले मिलेर काम गर्नुपर्ने बताए।
उनले श्रम स्वीकृति नलिई विदेश जाने प्रवित्तिले थप समस्या पैदा भएको पनि जानकारी दिए। ‘श्रम स्वीकृति नलिई गएका श्रमिकको त्यहाँ मृत्यु हुँदा लास समेत फर्काउन समस्या भएको छ,’ उनले भने।
उनले वैदेशिक रोजगारीका लागि विदेश जाने युवा तथा युवतीहरूलाई श्रम स्वीकृति लिएर जान आग्रहसमेत गरेका छन्।डा.बद्री
यस्तै, दक्ष कामदार वैदेशिक रोजगारीमा पठाउन सकेको खण्डमा मृत्युदर घट्ने उनको भनाइ थियो। ‘यसतर्फ राज्यको ध्यान जानु जरुरी छ। कम्तीमा ५/६ महिना सीप सिकेर वैदेशिक रोजगारीमा पठाउने परिपाटी बने समस्या कम हुन्छ। राज्यले नै तालिमको व्यवस्था मिलाउनु पर्छ,’ उनले भने ‘सीप सिकेर जाँदा तलब पनि दुई/तीन गुणा बढी हुन्छ।’
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एकल प्रयास अपुग हुने हुँदा सबैले हातेमालो गर्नुपर्ने उनको सुझाव थियो।
यस्तै उनले वैदेशिक रोजगारीमा जाने कामदारको सामाजिक सुरक्षा कोष लागू हुनुपर्ने माग राखे।
‘विदेशमा कमाएको पैसाको उचित क्षेत्रमा लगानी नभएको देखिन्छ। कमाएको पैसा परिवारमा खर्च हुने र देश फर्कदा रित्तो हात फर्किनु पर्ने बाध्यता छ,’ उनले भने ‘यस्तो अवस्थालाई चिर्न वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सामाजिक सुरक्षा कोष (नेपालको पेन्सन फण्ड) मा आवद्ध गराउनुपर्छ।’