५ मंसिर, दाङ ।
सांकेतिक तस्वीर
दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका-६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा-९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको लिएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरी – जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।