वैदेशिक रोजगारीमा जानेलाई एक महिना पारिश्रमिक लिएर पठाउने ?

रामेछाप खबर संवाददाता

काठमाडौं,४ मंसिर ।

सस्तो लोकप्रियताका लागि १० हजारमा रुपैयाँमा वैदेशिक रोजगारीमा लैजाने घोषणा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले बताए ।

तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङको पहलमा सरकारले २०७२ असार २१ गते खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको थियो ।

शुक्रबार राजधानीमा आयोजित वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता विषयक अन्तर्क्रिया कार्यक्रममा कामदारलाई सस्तो मूल्यमा रोजगारमा पठाइने निर्णय व्यवहारिक नभएको उनले बताए ।

‘कामदारको एक महिनाको मासिक तलब लिन मिल्ने व्यवस्था गर्न लागेका छौ,’ उनले भने,’ कामदारको हितलाई लक्षित गरी श्रम गन्तव्य मुलुकसँग सम्झौता गर्न लागिएको छ ।’

दक्ष कामदारलाई मात्र वैदेशिक रोजगारमा पठाउने तयारी भइरहेको सचिव गौतमले बताए । तालिम प्रदान गर्नका लागि विभिन्‍न संघ संस्थासँग सहकार्य भइरहेको उनको भनाइ छ । गौतमले सीप सिकाएर मात्र कामदार पठाउने व्यवस्था गर्दा गैरकानुनी रुपमा अन्य मुलुकबाट रोजगारीका लागि चुनौती औल्याए ।

‘घरेलु कामदारलाई कसरी सुरक्षित तरिकाले पठाउन सकिन्छ त्यसको अध्ययन गरिन्छ,’ उनले भने,’ महिला कामदारको सुरक्षाका लागि सरकारले प्रतिबन्ध लगाएको हो । अब पठाउँदा भने महिला कामदार कुन रोजगारदाताकोमा र कस्तो अवस्थामा छन भनेर पत्ता लगाउन सकिने गरी काम गर्न लागेका छौ ।’

जीवन बाच्‍न गाह्रो हुनेलाई मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको काम उपलब्ध गराउँदै आएको सचिव गौतमको भनाइ छ । तीन महिना काम गर्दा उनीहरूको जीवन सहज हुने भएकाले रोजगार प्रदान गरिएको छ । ‘सामाजिक संरक्षण कार्यक्रम हो,’ उनले भने ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमा केही गर्न सक्ने गरी कार्यविधि ल्याउन लागेको छ । पुन: एकीकरण कार्यक्रम अबको एक महिनामा लागू हुने उनले दाबी गरे । वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवस्थापन गर्न पुनः एकीकरण कार्यक्रम लागू गर्न लागेको हो ।कार्यविधि कानुन मन्त्रालयबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयले स्वीकृत गर्ने गौतमले जानकारी दिए ।
इकागज डटकमबाट