वैदेशिक रोजगारीमा एजेन्ट खारेज गरिए पनि विचौलियाको हावी, समाधान कहिले ?

रामेछाप खबर संवाददाता

काठमाडौं,३ मंसिर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका समस्या छिटै समाधान हुने बताएका छन्। वैदेशिक रोजगार पत्रकार समाज र वैदेशिक रोजगार बोर्डको सहकार्यमा भएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले श्रम कानुन कार्यान्वयनलाई पहिलो प्राथमिकता दिने बताए। ‘कानुन कार्यन्वयन गर्दै श्रमिकको हितलाई पहिलो प्राथमिकता दिन्छौं। पीडितको कुरा सुन्न र न्याय दिलाउन प्रतिबद्ध छु’, उनले भने।

सुधारको निर्णय गर्न पनि अध्ययन गरिरहेको उनको भनाइ छ। सुधारको कार्यक्रम गर्न पहल गरिरहेको उनले बताए। भिजिट भिसाका नाममा गएर उता काम गर्ने जमात बढ्दै गएको मन्त्री श्रेष्ठले बताए। ‘यो ठूलो समस्या हो’, उनले भने,‘भिजिट रोक्न खोज्दा त मानव अधिकारको कुरा पनि आउँला, तर जानिजानी खोलामा हाम फाल्न दिन हुँदैन।’ मानव अधिकार हनन नहुने गरी भिजिट भिसामा एक्सन लिने उनले बताए।

९५ प्रतिशत वैदेशिक रोजगार खाडी र मलेसियाको विकेन्द्रीकृत गरी अरु गन्तव्य खोज्न गृहकार्य भइरहेको उनले बताए। नियोग सबै देशमा नभएकाले गन्तव्य मुलुकमा श्रम अवैतानिक राख्ने तयारी भइरहेको बताए। त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरेर छिट्टै निर्णयमा पुगिने उनको भनाइ छ।

फ्रि भिषा, फ्रि टिकट प्रावधानले कामदार तथा राज्यलाई नै घाटा भइरहेको उनको भनाइ छ। ‘फ्रि भिसा फ्रि टिकट क्यान्सिल गरे बस्न खान दिंदैनन्’, उनले भने। टोकन र अनलाइन भनिए पनि त्यसको फाइदा विचौलियाले लिएको उनले बताए।

वैदेशिक रोजगारीमा एजेन्ट खारेज गरिए पनि हावी भएको भन्दै व्यवहारमै हटाउन लाग्ने उनको भनाइ छ। भारतीय रोजगारी व्यवस्थित गर्न लागेको र न्यूनतम ज्याला तोकेर भारतमा काम गर्ने नेपालीको रोजगारीमा राहत दिने योजना रहेको उनले सुनाए।

ताहचलको भीड अन्त्य गर्न पहिलो चरणमा ७ प्रदेशबाट श्रम स्वीकृति दिने योजना बनाउने र पुन: श्रम स्वीकृति मात्र नभइ सबैखाले श्रम स्वीकृति प्रदेशबाट सुरु गरिने , पछि ७५३ स्थानीय तहबाटै गर्ने योजना रहेको उनको भनाइ छ।

तत्काल रोजगारी सिर्जना हुन नसक्ने स्थिति रहेकाले वैदेशिक रोजगार निरुत्साहित गर्न नसकिने उनले बताए। ‘अब सबै तालिम प्रदायक संस्थालाई एकीकृत गरेर सीप सिकाउने छौं’, उनले भने, ‘जहाँ बसे पनि सीप सिकाएर काम गर्न सक्छन्। ’ श्रम सूचना बैंक र श्रम अस्पताल बनाउने योजना रहेको उनले सुनाए। वैदेशिक रोजगारीमा अनुगमन प्रभावकारी बनाउने उनको भनाइ छ।

श्रम सचिव सूर्यप्रसाद गौतमले भिजिट भिसामा जाने र उता श्रम गर्ने परिपाटीले श्रमिक जोखिममा परेको बताए। श्रमिकको राहतका लागि अवैतानिक दूत राख्ने तयारी भएको बताए।