काठमाडौं,३ मंसिर ।
यस वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हो। पछिल्लो ५८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।
यो चन्द्रग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्नेछ। यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ। चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरिय क्षेत्र लगायतबाट देखिनेछ।
ज्योतिष शास्त्रमा चन्द्रग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ। खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्रग्रहण लाग्दछ। तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्रग्रहण लाग्ने गर्दछ।
चन्द्रग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ। यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो। आजको चन्द्रग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ।
चन्द्रग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति
कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।
एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उहाँले बताउनुभयो । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।