रामदेव मजस्तै क्रान्तिकारी हुनुहुँदोरहेछ : प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं,३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय योगगुरु रामदेव वैज्ञानिक र आफूजस्तै क्रान्तिकारी भएको टिप्पणी गरेका छन्।
रामदेव र आचार्य बालकृष्णद्वारा सञ्चालित आस्था टेलिभिजन र पतन्जली टेलिभिजनको काठमाडौंमा उद्‌घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूसँग निकट्ता बढ्दै जाँदा रामदेवप्रति हेर्ने दृष्टिकोण फेरिएको बताए।

‘बाबा रामदेव नभेट्दा रुढीवादी अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। मजस्तै क्रान्तिकारी हुनुहुँदो रहेछ’ प्रचण्डले भने, ‘योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट सामाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’

नेपाल हिमालको काखमा भएकाले जडीबुटीको भण्डार समेत भएकाले त्यसलाई पतन्जलीका माध्यमबाट प्रयोगमा ल्याउनु पर्ने प्रचण्डले बताए।

काठमाडौं–१७ का वडाध्यक्ष बने कांग्रेस प्रदेश सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को नेतृत्व चयन सम्पन्न भएको छ ।

भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट नवीन मानन्धर प्रदेश सभापति बन्न सफल भएका छन् । मानन्धर काठमाडौं महानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष पनि हुन् ।

क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यले दिएको जानकारीअनुसार उनी सर्वसम्मत सभापति बनेका हुन् । यस्तै, उपसभापतिमा भवेश्वर घिमिरे र पुरुषोत्तममान महर्जन चयन भएका छन् । दुई सचिवमा शिव बोहरा र वबलकृष्ण महर्जन चयन भएका छन् । सहसचिवमा आश्मा शाक्य चयन भएकी छन् ।