रामेछापकी २७ बर्षिय युवती भक्तपुरमा मृत भेटिइन

रामेछाप खबर संवाददाता

३ मंसिर, रामेछाप ।

रामेछाप घर भएकी एक युवती भक्तपुरको मध्यपुर ठिमीमा मृत फेला परेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमकी २७ बर्षिय बिमला विक मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेमा आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ ।

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।