काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

रामेछाप खबर संवाददाता

काठमाडौं,३ मंसिर ।

फाइल तस्विर

काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको माइती घर मण्डलामा नै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुला कुकुरको टोकाइबाट दुई दिनमा १८ जना घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा बहुला कुकुरले टोकेर दुई दिनमा १८ जना घाइते भएका छन्। बुधवार र बिहीवार वडा नम्बर ४ का १२ जना र वडा नम्बर ११ का ६ जनालाई बहुला कुकुरले टोकेको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ।

बहुला कुकुरले २१ वटा पशुचौपायालाई समेत टोकेको छ। स्थानीयबासीका अनुसार तीन बंगुर, दुई बाख्रा, एक पाडी, सात कुकुर र सातवटा गोरूलाई बहुला कुकुरले टोकेको छ।

वडा अध्यक्ष ज्ञानबहादुर विष्टले बहुला कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि जानकारी गराइएको बताए। वडा क्षेत्रमा छाडा कुकुर धेरै रहेको वडाध्यक्ष विष्टले बताए। बहुला कुकुर नियन्त्रण गर्नका लागि पशु शाखबाट टोली परिचालन गरिने नगर प्रमुख दिलबहादुर ऐरले बताए।

बहुला कुकुरले बाटोमा हिँडिरहेका र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित छन्।