देशका विभिन्न स्थानमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

रामेछाप खबर संवाददाता

काठमाडौं,३ मंसिर ।

जाडो बढ्ने क्रम जारी छ। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको हो। उक्त प्रणालीको प्रभावले वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ,’ महाशाखाले भनेको छ, ‘हाल प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।’

महाशाखाले बुलेटिनमार्फत देशका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामा समेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी महाशाखाले बुलेटिनमार्फत मुलुकका केही भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावाना रहेको आगामी तीन दिनसम्मको मौसमी विवरण प्रक्षेपण गरेको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

दिउँसो: देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बाग्मती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ।