काठमाडौं ।
इन्टरनेट आज एक अपरिहार्य बनिसकेको छ । इन्टरनेट बिना प्राय मानिसको जीवन नै अधुरो हुन्छ भन्दा फरक पनि नपर्ला र हामी नेट बिना बाच्न पनि नसक्ने भैसकेका छौँ । इन्टरनेट ढिलो भयो भने काममा पनि बाधा हुन्छ भने काम गर्न पनि दिक्क लाग्ने हुन्छ । तर इन्टरनेट छिटो चलेको छ भने काम गर्न पनि सहज र सरल समेत हुन्छ ।
इन्टरनेट प्रयोग गर्दा अधिकांशले भोग्नुपर्ने समस्या हो वाइफाई सिग्नल कमजोर । एउटै घरमा कुनै कोठामा सिग्नल राम्रो देखाउँछ भने अर्को कोठामा कमजोर हुन्छ । त्यस्तै, एकैछिनमा सिग्नल देखाउने र फेरि हराउने समस्या पनि हुन्छ । किन हुन्छ त यस्तो समस्या ?
के तपाई इन्टरनेट ढिलो भएर दिक्क हुनुभएको छ ? यदि छ भने आफ्नो इन्टरनेट छिटो चलाउन यी बिधि अपनाउनुहोस्!
राउटरलाई घरको बीच भागमा राख्नु उपयुक्त हुन्छ । घरको केन्द्रबिन्दुमा राउटर राख्दा सबै भागमा सिग्नल बराबर पुग्छ ।
राउटर राख्ने स्थान चयन गर्नुपर्दा क्लाउडचेकको सहयोग लिन सकिन्छ । यसले पूरै घरको वाइफाई रुट थाहा हुन्छ । जसले गर्दा सिग्नल कमजोर भएको क्षेत्र थाहा हुन्छ ।
राउटरलाई कहिल्यै भुइँमा राख्नुहुँदैन । त्यसलाई कम्तीमा पनि भुइँदेखि २ फिटको उचाइमा राख्नुपर्छ । किनकि, सिग्नलको दिशा केही तलको भागमा हुन्छ । जसले गर्दा राउटर भुइँमा राख्दा सिग्नलको बाटो अवरुद्ध हुन सक्छ । राउटरलाई टिभी क्याबिनेट वा पर्दापछाडि राख्नुहुँदैन ।
यसलाई खुला स्थानमा राख्दा फ्री सिग्नल हुने कारण गति पनि केही बढी नै हुन्छ ।राउटरलाई टिभी, कर्डलेस, माइक्रोवेभ, फ्रिजजस्ता विद्युतीय उपकरणबाट टाढा राख्नुपर्छ । यस्ता उपकरणले इलेक्ट्रोमेग्नेटिभ वेभ छोड्ने कारण राउटरको सिग्नललाई बाधा पुग्छ ।
वाइफाईको पासवार्ड चोरी हुन नदिन पनि सचेत रहनुपर्छ । त्यसैले पासवर्ड कसैले पनि अनुमान गर्न नसक्ने राख्नुपर्छ । अल्फाबेट, न्युमेरिकल वा अन्य सिग्नल पनि मिसाएर पासवर्ड बनाउनु उचित हुन्छ । राउटर सफ्टवेयरलाई अपग्रेड गरिरहनुपर्छ । विशेषगरी पुरानो राउटर छ भने अझ बढी ख्याल राख्नुपर्छ ।
इन्टरनेट सर्भिस प्रोभाइडरका कारण पनि सिग्नलमा असर पुगेको हुन सक्छ । यो विषयमा धेरैलाई अप्ठ्रो पर्न सक्छ, सर्भिस प्रोभाइडरको कारण सिग्नल कमजोर भएको हो कि राउटरको कारण यस्तो भएको हो ।
यदि वाइफाई कनेक्ट र राउटरसँग डाइरेक्ट कनेक्ट गर्दा पनि नेट स्लो छ भने सर्भिस प्रोभाइडरको कारण यस्तो भएको हो । यसका लागि स्पिड टेस्टको मद्दत लिन सकिन्छ ।