काठमाडौं, २ मंसिर।
सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । उनलाई थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ ।
यसअघि, प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको थियो ।
प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित केही वकिलहरू घाइते भएका छन् ।
त्यसमध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ । वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनरत छन् ।
सर्वोच्चमा प्रहरी र वकिलबीच झडप, बार अध्यक्षसहित १ दर्जन घाइते
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध आज पनि प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी लागेर नेपाल बार एसोसिएसनका अध्यक्षसहित करिब १ दर्जन वकिलहरु घाइते भएका छन् ।
सर्वोच्च अदालत परिसमा प्रदर्शन तथा धर्नामा रहेका वकिलहरु र प्रहरीबीच धकेलाधकेल हुँदा झडपको स्थिति आएको हो । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत १ दर्जन वकिल घाइते भएको जनाइएको छ । लाठी लागेपछि महर्जन बेहोस भएका थिए ।
प्रहरीको लाठी लागेर घाइते हुनेमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत कानुन व्यवसायीहरू रहेका छन् । सर्वोच्च प्रशासनले ठूलो मात्रामा हतियारसहितका प्रहरीहरु परिचालन गरेर शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको वकिलहरुको आरोप छ ।
बार आबद्ध वकिलहरुले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरको आदेशमा प्रहरी परिचालन गरेर दमन गरेको भन्दै उनलाई माफी माग्न आग्रह गरेका छन् ।
नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका थिए । उनीहरुलाई रोक्न र हटाउनका लागि प्रहरी परिचालन गरिएको हो ।