सर्वोच्चको गेटमा प्रहरी र वकिलबीच घम्साघम्सी, बार अध्यक्ष र सर्वोच्च बारका सचिव घाइते

रामेछाप खबर संवाददाता

काठमाडौं, २ मंसिर।

सर्वोच्च अदालत परिसरमा प्रहरीसँगको धकेलाधकेलमा दुई जना कानुन व्यवसायी घाइते भएका छन्। प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वार तर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो।

काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा बसेपछि प्रधानन्यायाधीश राणा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका थिए।

राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि बिहीबार प्रयास गरेका थिए। तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन।
त्यसक्रममा भएको धकेलाधकेलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे घाइते भएका छन्।

प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायी राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

जबराले बोलाए पुर्ण बैठक, असन्तुष्ट १४ न्यायाधीश उपस्थित हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले पुर्ण बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको बुझिएको छ । आजको बैठकमा जबरासहित २० जना न्यायाधीशहरुको उपस्थिति रहने भएको छ ।

बुधबार बसेको आन्दोलनरत १४ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै पुर्णबैठक (फुलकोर्ट) बोलाउने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीशको काम कारवाहीसँग रुष्ट भएका १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । सहमति जुटेसँगै १४ न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई आज पुर्णबैठक बोलाउन आग्रह गरेका हुन् ।