काठमाडौं, २ मंसिर।
न्यूजिल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेल भारतले जितेको छ । यो जितमा म्यान अफ द म्याच सूर्यकुमार यादव भए । तेस्रो क्रममा ब्याटिङ गर्न आएका यादवले ४० बल खेलेर ६२ रन बनाए । यस क्रममा उनले ३ छक्का र ६ चौका हाने ।
भारतको इनिङको १६ औं ओभरमा सूर्यकुमार यादवको क्याच पनि छुट्यो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले फाइन लेगमा क्याच छोडेपछि बल बाउन्ड्री बाहिर गयो । खेलपछि सूर्यकुमारले ट्रेन्ट बोल्टलाई धन्यवाद दिए । उनले भने ‘हाज मेरी श्रीमतीको जन्मदिन हो, क्याच छोडिदिएकोमा धन्यवाद ।’
पहिलो टी-२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्ड भारतसँग ५ विकेटले पराजित
काठमाडौं- भारतमा भ्रमणमा रहेको न्युजिल्यान्ड पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोलीसँग पराजित भएको छ। जयपुरमा बुधबार भएको खेलमा न्युजिल्यान्डले भारतसँग ५ विकेटको पराजय भोगेको हो।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितका लागि भारतका भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले ४८ रन जोडे भने केएल राहुलले १५ रनको योगदान गरे।
श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए । ऋषव पन्त १७ र अक्षर पटेल १ रनमा अविजित रहे। न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले ।
गुप्टिलले ७० तथा मार्कले ६३ रन बनाए। भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए। दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए। जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। दोस्रो खेल भोलि हुनेछ।