कस्तो रहला आजको मौसम?

रामेछाप खबर संवाददाता

काठमाडौं, २ मंसिर।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

एमाले महाधिवेशन पूर्ण ‘डिजिटलाइज्ड’ प्रणालीबाट गर्ने तयारी

एमालेले दशौँ महाधिवेशनलाई मूलतः डिजिटलाइज्ड प्रणालीबाट सम्पन्न गर्ने गरी तयारी तीव्र पारेको छ । महाधिवेशनको प्रचार, उद्घाटन, प्रतिनिधिहरूको व्यवस्थापनसम्मका काम ‘डिजिटलाइज्ड सिस्टम’बाट सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको हो । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधिको विवरण संकलनसँगै प्रतिनिधिलाई सम्बन्धित स्थानबाटै परिचयपत्र बनाउने प्रयोजनका लागि अनलाइन फारम भराउने कामलाई तीव्रता दिइरहेको छ । सबै काम सकेर ५ मंसिरभित्र उनीहरूलाई कार्ड उपलब्ध गराइसक्ने तयारी छ ।

महाधिवेशनको लोगोसहितको परिचयपत्रमा क्युआर कोड उल्लेख गरेर प्रतिनिधिको व्यक्तिगत विवरण, प्रतिनिधित्व गर्ने क्षेत्र उल्लेख गरिनेछ । त्यही क्युआर कोडका आधारमा प्रतिनिधिलाई बन्दसत्रमा प्रवेश गराउनेदेखि खाना खुवाउने कुपनसमेतको प्रबन्ध हुनेछ । १० मंसिरमा अध्यक्ष केपी ओलीले ड्रोन उडाएर महाधिवेशनको उद्घाटन गर्ने र ड्रोनबाट महाधिवेशनको लोगो प्रदर्शन गराउने तयारी छ । त्यस्तै, महाधिवेशनस्थलआसपास नारायणघाट बजार, नारायणीपारि पूर्वी नवलपरासीको गैँडाकोटसम्म एलइडी स्क्रिनबाट महाधिवेशनको प्रत्यक्ष प्रसारण गराउने गरी व्यवस्थापकीय तयारी छ ।

प्रचार उपसमितिले बुधबारबाट नियमित रूपमा इ–बुलेटिन प्रकाशन गर्ने तयारी सुरु गरेको छ । ‘यसपटकको महाधिवेशनमा कतै पनि पोस्टरिङ, वाल पेन्टिङ हुँदैन, ठाउँ–ठाउँमा इलेक्ट्रिक होर्डिङ बोर्डसहितको प्रचार डिस्प्ले राख्ने तयारी छ,’ कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘सम्पूर्ण हिसाबले महाधिवेशनलाई डिजिटलाइज्ड गर्ने कोसिस चलिरहेको छ ।’

महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा दुईतले उद्घाटन मञ्च बनाउने तयारी छ । माथिल्लो तलामा अध्यक्ष ओलीसहित स्थायी समिति सदस्य र विदेशी पाहुना, तल्लो तलामा केन्द्रीय सदस्य, कलाकार, झाँकी–प्रदर्शनी रहने जनाइएको छ । ०७१ मा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनबाटै एमालेले उद्घाटनसहितका धेरै काम ‘डिजिटलाइज्ड सिस्टम’बाट गर्ने प्रयास सुरु गरेको थियो ।

महाधिवेशनमा १६ सय ४९ जना निर्वाचित, दुई सय ६३ जना पदेन र मनोनीत ८७ जनासहित कुल एक हजार नौ सय ९९ जना प्रतिनिधि सहभागी हुँदै छन् । केन्द्रीय कमिटीका एक सय ९६ तथा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका ६७ जनाले पदेन प्रतिनिधिका रूपमा भाग लिँदै छन् । मनोनीतबाहेक सबैतिर प्रतिनिधि छनोटको काम सम्पन्न भएपछि धमाधम विवरण संकलनको काम भइरहेको केन्द्रीय कार्यालय सचिव तामाङले बताए । १६ सय ४९ जना निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि ९ मंसिरमा सौराहामा बस्ने केन्द्रीय कमिटी बैठकले मनोनीत गर्नेछ ।