काठमाडौं, ३० कात्तिक ।
धनुषाका एक युवकले सुसाइड नोट लेख्दै ससुरालीमा आत्महत्या गरेका छन्। मिथिला नगरपालिका वडा नम्बर २ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति ससुराली घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ।
गम्भीर अवस्थामा उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्ने क्रममा बाटैमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। महतोको खल्तीमा सुसाइड नोट फेला परेको छ।
उनले सुसाइड नोटमा आफूलाई सुसुरालीका सबै सदस्य मिलेर सोमबार निर्घात कुटपिट गरेकाले आफ्नो मृत्यु भए त्यसको जिम्मेवार ससुरालीको परिवारै हुने लेखेका छन्।
‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ’, उनले सुसाइड नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कुटेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्महत्या गर्न गइरहेको छु।’
उनले सुसाइड नोटमा आफ्नो हस्ताक्षरसमेत गरेका छन्।
महतोले मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित ससुराली घरमा झुण्डेर आत्महत्या गरेका हुन्। झुण्डेको देखेपछि सुसुरालीका सदस्यले उपचारका लागि अस्पतालतर्फ लाने क्रममा बाटैमा उनकाे मृत्यु भएको प्रहरीको भनाइ छ।
पोस्टमार्टमका उनको शव प्रादेशिक अस्पताल (जनकपुर) मा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। अनुसन्धानपश्चात् थप कुरा खुल्ने उनको भनाइ छ।
महतोले ५ वर्षअघि विवाह गरेका थिए। उनका दुई छोरा छन्। घरभन्दा केही पर मात्र ससुराली भएकाले प्रायः उनी ससुरालीमै बस्ने गरेका थिए। त्यस क्रममा ससुराली र उनीबीच बेलाबेला विवाद हुने गरेकाचे स्थानीय बताउँछन्।
घटनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। साभार : शैलेन्द्र महतो, नेपाल खबर