काठमाडौं, ३० कात्तिक ।
इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।
यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी र विप्लव कार्यकर्ताबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।
कानुन व्यवसायी भन्छन्– प्रधानन्यायाधीशले आफ्नै घर मिलाउन सक्नुभएन
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायालयको नेतृत्व गर्न असफल भएको बताएका छन्। बारको जारी धर्नापछिको कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले आफ्नै घर चलाउन नसकेको बताएका हुन्।
‘बार आन्दोलनलाई सडकबाट आन्दोलन गर्दैमा राजीनामा दिन्छु ! भन्ने प्रधानन्यायाधीशले विज्ञप्तिमार्फत बारलाई एउटै घरको सदस्यको रूपमा स्विकार्नुभएको छ। तर, उहाँले आफ्नै घर मिलाउन सक्नुभएन,’ पौडेलले भने।
यसैगरी बारका केन्द्रीय सदस्य पञ्चनारायण मण्डलले देशव्यापी राजीनामा माग भएको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए। उनले भने, ‘बार आन्दोलनमा दैनिक प्रहरी दमन गरिन्छ। देशव्यापी रूपमा राजीनामा मागिएको छ। उहाँले राजीनामा गर्नुपर्छ।’ बारकी अर्की केन्द्रीय सदस्य कल्पना भण्डारीले जबरा न्यायालयको गरिमा जोगाउन असमर्थ रहेको आरोप लगाइन्।
धर्नापछिको कार्यक्रममा बोल्दै अधिवक्ता मनीषकुमार श्रेष्ठले न्याय किन्न नसक्नेहरूको पक्षमा बार आन्दोलन भएको दाबी गर्दै बार र बेन्चको सम्बन्ध दियो र बत्तीजस्तो हुनुपर्ने स्पष्ट पारे। उनले भने, ‘बार र बेन्चको सम्बन्ध दियो र बत्तीजस्तो हो। नोकर र दासको होइन। न्यायपालिकाको सेना र प्रहरी भनेको कानुन व्यवसायी हुन्।’