काठमाडौं, ३० कात्तिक ।
ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् ।
बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले जानकारी दिए ।
प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।
बन्द गराउँदै हिँडेका नेकपा चितवनका अध्यक्षसहित ११ जना पक्राउ
चितवन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चितवनमा बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ परेका छन् । गाडी चलाउन रोक्दै चोक-चोकमा खटिएकालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला अध्यक्ष सन्देश पौडेल, अनेरास्ववियू क्रान्तिकारीका वागमती प्रदेश इञ्चार्ज राजन साउदसहितका कार्यकर्ता छन् । चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले यातायात तथा पसल बन्द गराउँदै हिँडेकालाई पक्राउ गरिएको बताए ।
विप्लव नेकपाको बन्दका कारण चितवनका मुख्य सडक तथा बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । भित्री बजारका भने अधिकांश पसल खुलेका छन् । विद्यालय बन्द छ । सडकमा थोरै सवारी गुडेका छन् ।