काठमाडौं, ३० कात्तिक ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। उपत्यकामा पनि यसको सामान्य प्रभाव देखिएको छ।
बन्द सफल गराउन भन्दै विप्लवका कार्यकर्ताले बिहानै केही स्थानमा टायरसमेत बालेका थिए। यद्यपि अहिले सडकमा सार्वजनिकदेखि निजी सवारी गुड्न थालेका छन्। साझा यातायात बिहानैबाट चल्न थालेको छ। कोटेश्वर क्षेत्रमा सवारी साधन कम हुँदा यात्रु पर्खेर बसेको देखिन्थ्यो।
कतिपय कामहरु नियमित चल्नसमेत थालेका छन्। राजधानीका सडकहरुमा प्रहरी बाक्लोमात्र खटिएका छन्। आजको सुरक्षा बन्दोबस्ती चुस्त रहेको काठमाडौं महानगरीय कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
‘अवस्था सामान्य छ। एक दुई ठाँउमा टायर बालेका थिए। सुरक्षा व्यवस्था राम्रो छ,’ एसपी राठौरले भने। पेट्रोलियम पदार्थमा मुल्य बढाएको भन्दै विप्लव समूहको पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो।
पोखराबाट आठ जना बन्दकर्ता पक्राउ, ६३५ जना प्रहरी परिचालन
पोखरा । कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ लगायत छन् । उनीहरुलाई कास्की प्रहरी मातहतका विभिन्न कार्यालयमा राखिएको छ ।
बन्दमा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । पेट्रोलियम पदार्थ तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो ।
नेपाल बन्दका कारण पोखरा सुनसान छ । पोखरामा अत्यावश्यक बाहेक कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने शैक्षिक संस्था, बजार सबै ठप्प छन् ।