काठमाडौं, २९ कात्तिक ।
इजरायलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखएको छ । काठमाडौँस्थित इजरायली राजदूत हेनान गोदरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा यस्तो चाहाना राखेका हुन् । मन्त्री आलेसँग राजदूत गोदरले सोमबार शिष्टाचार भेट गरेका थिए । सो भेटका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानबारे चर्चा भएको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसै वर्षको अन्तिममा परीक्षण उडान गर्ने तयारी भइरहेको छ । मन्त्रालयमा भएको भेटमा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिए ।
सो अवसरमा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका थिए ।
भरतपुरका मेयर र कतारी राजदूतबीच द्विपक्षीय हितको विषयमा छलफल
भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।
राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।