विप्लवद्वारा नेपाल बन्दको आक्रामक तयारी ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ ।

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ ।

विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।

सांसदहरूलाई होटलमा भेला गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिन ‘ह्वीप’

१नम्बर प्रदेश सरकारका सहयात्री गठबन्धन दलहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्वीप’ लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदहरूलाई भेला गराएर ह्वीप जारी गरिएको छ ।

मुख्यमन्त्री राईले भोलि मंगलवार विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत कात्तिक १६ गते राई मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री बनेका छन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा १ सांसद अदालतबाट दोषी ठहर भएर फरार भएपछि हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।